×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ सिष्टममा ‘बिग सेक्युरिटी थ्रेट’, बैंकहरु उच्च जोखिममा (अर्थ सरोकार रिसर्च)

बैंकिङ सिष्टममा ‘बिग सेक्युरिटी थ्रेट’, बैंकहरु उच्च जोखिममा (अर्थ सरोकार रिसर्च)

घटना केही समय अगाडिको हो । एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट करौडौं रुपैयाँ लुट्ने पाँचजना चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्रियो । नेपालमा रहेका एटिएम बुथबाट रकम लुट्ने योजना चीनमै बनाएर नेपाल आएका उनीहरुको योजना सफल भएन । पर्यटन भिसामा नेपाल आएका उनीहरु काठमाडौं आएको २४ घण्टामै आफ्नो योजना अनुसार काम गर्न थालिसकेका थिए । तर प्रहरीलाई प्राप्त सूचनाका आधारमा प्रहरीले गरेको सूक्ष्म अपरेशनपछि उनीहरुको योजना सफल भएन । नेप्सको स्विचमै बदमासी गरेर पैसा झिकेका उनीहरुले बनाएको योजना ट¥यो र नेपालबाट करोडौं रुपैयाँ लुटिनबाट जोगियो । यो घटना सेलाउन नपाउँदै अर्को घटना घट्यो । कृषि विकास बैंकको सिष्टम ह्याक गरी पैसा चोरियो । बैंकले यो सिष्टम ह्याक नभएको बताए पनि पछि प्रहरीले सिष्टम ह्याक नै भएको पुष्टि ग¥यो । यहाँनेर पनि प्रहरी सफल भयो । बैंकको सिष्टमबाट चोरीएको पैसा झिक्नेहरुलाई प्रहरीले पक्रियो ।

केही साताअघि अर्को फरक खालको घटना घट्यो । दिनको करिब ३ बजेको हुँदो हो, गृह मन्त्रालयमा एक युवकको फोन आयो । फोनमा उनले भने, ‘म सिरहाबाट बोल्दै छु । मैले वाणिज्य बैंकको एटिएम ह्याक गरिसकेँ ।’ एकाएक मन्त्रालयमा यस्तो फोन आएपछि फोन उठाउने कर्मचारीले तत्काल यसबारे गृहसचिव प्रेमकुमार राईलाई जानकारी गराए । एकाएक आएको यस्तो फोनले मन्त्रालयका कर्मचारीलाई झस्काउनु पनि स्वाभाविक थियो । केही समय अगाडिमात्र विभिन्न बैंकका एटिएम ह्याक भएको काण्ड सुनेका, पढेका उनीहरुले यस विषयमा खोजी गरिहाले । गृहसचिव राईले आइजिपी सर्वेन्द्र खनाललाई घटनाबारे जानकारी दिए । त्यसपछि आइजिपी खनालले महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापालाई घटनाबारे जानकारी दिए र उनलाई कुनै हालतमा पक्रन आदेश दिए । फोन नम्बर ट्र्याक गर्दै महाशाखाको टोलीले अन्ततः ती व्यक्तिलाई सिरहाको कल्याणपुरबाट पक्राउ ग¥यो । अनुसन्धानको क्रममा ठाकुर अर्धपागल रहेको प्रहरीको ठम्याइ रह्यो ।

माथिका दुई घटना केलाउने हो र तेस्रो घटनालाई मनन गर्ने हो भने नेपालका बैंकका सिष्टमहरु ‘भगवान भरोसा’मै चलेका छन् भन्ने भान हुन्छ । यतिबेला विशेषगरी माथिका दुई घटनालाई लिएर नेपालमा रहेका बैंकका सिष्टम कति सुरक्षित छन् त ? भन्ने प्रश्न उठेको छ । यससम्बन्धी गहिरो बहस छेडिएको छ ।

घटना १ को नालीबेली
शनिबारको दिन थियो । अपराह्न करिव ४ बजेको हुँदो हो । डीएसपी होविन्द्र बोगटीको मोबाइलको घण्टी बज्छ । एक बैंकरको फोन थियो त्यो । ती बैंकरले बैंकको एटिएम सिस्टममा केही असाधारण गडबडी देखिएको प्रारम्भिक जानकारी दिए । ‘एउटा मान्छेले पटक–पटक असाधारण रुपमा एटीएम कार्ड प्रयोग गरेको संकेत सिस्टमले दिइरहेको छ’ ती बैंकरले दिएको यही सूचनाका आधारमा प्रहरीले अप्रेशन थाल्यो । एटीएम सर्भिस प्रोभाइडर नेप्सबाट नबिल बैंकको दरबारमार्ग बुथमा समेत केही अनधिकृत गतिविधि भइरहेको उनको संकेत थियो । सूचना र सूचनालाई बल मिल्नेगरी लोकेसन पाएपछि प्रहरीले अप्रेशन थाल्यो । ती बैंकरले दिएको जानकारीपछि डीएसपी होविन्द्र बोगटीले नेतृत्व गरेको टोली दरबारमागस्थित नबिल बैंक एटीएम बुथ पुग्दा त्यहाँ चिनियाँ नागरिक झु लियाङआङ पैसा निकाल्दै थिए । प्रहरीले उनलाई रंगेहात नियन्त्रणमा लियो । उनको साथबाट ४५ हजार रुपैयाँ नगद, २० थान नक्कली एटीएम र होटल माया मनोहर बुटिकको साँचो फेला प¥यो । त्यसपछि प्रहरीले अर्को क्लु पायो । प्रहरीको टोली होटलतर्फ लाग्यो । प्रहरी होटल पुग्दा झुको समूहका चारजना दुई वटा सुटकेश र झोला बोकेर बाहिरिन खोज्दै थिए । उनीहरुमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लियो, केही भाग्न सफल भए ।

यस्तो छ ह्याकरहरुको फर्मूला !
कसरी भयो त ह्याक ? यसलाई सजिलोसँग बुझ्ने प्रयास गरौं ।माथिकै उदाहरणलाई आधार बनाएर हेरौं । उनीहरुले कार्ड नबिलको एटिएममा छिराए । नबिलको एटिएमले भिसालाई सोध्यो । भिसाले नेप्सलाई सोध्यो । यहाँनेर चिनियाँहरुले नेप्समा भिसाको प्रश्न नपुग्दै ‘भुक्तानी दिए हुन्छ’ भन्ने जवाफ आउनेगरी सफ्टवेयर प्रयोग गरे । ह्याक यहीँनेर भयो । नेप्ससम्म भिसाको प्रश्न नपुग्दै भिसाले भुक्तानी दिन आदेश दिइरह्यो । बैंकका कर्मचारीले बेलैमा जानकारी नदिएको भए ठुलो दुर्घटना हुन सक्थ्यो । चिनियाँहरु करोडौं रुपैयाँ लुटेर भाग्थे तर कसैलाई थाहा नै हुँदैनथियो । थाहा पाएको दिन सबै कुरा ढिलो भइसक्ने थियो ।

घटना २ को नालीबेली
एटिएम ह्याक भएको खबर सेलाउन नपाउँदै नेपाली बैंकिङ क्षेत्रमा अर्को घटना घट्यो । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ठूलो रकम निकालियो । यो प्रकरणमा त अझै ब्यालेन्स सिट नै तलमाथि पारिदिएर सिष्टममा छिरेको देखिएको छ । फरेन्सिक रिपोर्ट नआइसकेकाले यस्तो नै भएको हो भन्न नसकिए पनि बैंकको ब्यालेन्स सीटबाट केही रकम डेबिट गर्ने अनि नयाँ खाता खोलेर खातामा पठाएको देखिएको छ । यस प्रकरणमा बैंककै कर्मचारीको संलग्नताको आशंका गरियो भने प्रहरीले ११ जनालाई विभिन्न ठाउँहरुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् । यो प्रकरणमा बैंककै कम्प्युटर प्रयोग गरेको देखिएको छ । ब्यालेन्स सिटमा गडबडी गरेर म्यानेजरको युजरनेम र पासवर्ड प्रयोग गरेर सिष्टमभित्र छिरिएको छ र गडबडी गरिएको छ ।
विदेशी नागरिक ‘काले’ भन्ने पिटरले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ । उनले ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले विभिन्न नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा ‘क्रेडिन्सियल ह्याकिङ’ गरी रकम निकालिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । विदेशमा बसेर डिल गर्ने अनि नेपालमा बैंकबाट रकम चोरी गरेर हुण्डीमार्फत पैसा लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बैंकरका कर्मचारीहरुको लापरबाही पनि उस्तै
यसो त बैंकका कर्मचारीहरु पनि कम लापरबाही गर्दैनन् । कृषि विकास बैंकको ह्याकिङ प्रकरण सम्झदै प्रविधिविज्ञ मुकुन्द पोखरेल भन्छन्, ‘मैले अडिट गर्दा देखेको छु । कतिपयले डायरीमा पासवर्ड लेखेर डायरी टेबलमै छाड्छन् । कतिपयले किबोर्डको पछाडि पासवर्ड राख्छन् । अब आइटी हेडले नै यस्तो गर्छन् भने अरुले के सिक्ने ? अरुले के गर्छन् होला ?’ उनका अनुसार बैंकका कर्मचारीहरुले पनि आइटीलाई सुरक्षाका दृष्टिकोणले भन्दा बढी अपरेशनल कुरा ठीक छ कि छैन भनेर मात्र ख्याल गर्ने गर्दछन् । ‘सिष्टम चलेको छ, एटिएमबाट पैसा निस्केको छ भन्ने बित्तिकै सबै कुरा ठीक छ भन्ने भ्रम छ कर्मचारीहरुमा । यो भ्रमबाट बाहिर निस्किन जरुरी छ । सिष्टम ठीक अवस्थामा छ कि छैन भन्ने कुरा महत्वपूर्ण कुरा हो,’ उनी भन्छन् ।

समस्या एकातिर, राष्ट्र बैंकको ध्यान एटिएमको बुथ सुरक्षातिर
नेपालका एटिएमहरु ह्याक भएपछि नेपाल राष्ट्र बैंकले सर्कुलर नै जारी गरेर सबै एटिएमहरुमा सुरक्षाकर्मी राख्नु भन्यो । त्यो पनि २४ सै घण्टा । यसले ठूलो खर्च बढाउने भएकाले बैंकहरुले अझै यो निर्देशन मानेका छैनन् । अर्कोतर्फ सिष्टमको सुरक्षा गर्नुपर्ने ठाउँमा बुथहरुको सुरक्षाको नीति ल्याउनुमा कुनै पनि तुक नभएको तर्क प्रविधिविज्ञहरुको छ । ‘नियामकको निर्देशन देखेर पनि कहिलेकाहीँ उदेक लाग्छ,’ प्रविधिविज्ञ शंकर दाहाल भन्छन्, ‘समस्या सिष्टममा छ । ह्याक सिष्टम भएको छ, तर सुरक्षा बुथको गर्न निर्देशन दिइएको छ । देशभर भएका ३ हजारबढी एटिएम बुथहरुमा सुरक्षाकर्मी राख्नुभन्दा त सिष्टम सुरक्षित बनाउन लाग्नुपर्छ ।’ अर्का प्रविधिकर्मी केशव पौड्याल पनि राष्ट्र बैंकको यो नियमले आफूलाई अचम्म बनाएको तर्क गर्छन् । उनी भन्छन्, ‘सुरक्षाकर्मी त बुथभित्र जान नै पाउँदैनन् । त्यसमाथि ह्याकरहरुले सुरक्षाकर्मीसँग कसरी डिल गर्ने भन्ने तयारीसमेत गरेका हुन्छन् । त्यसैले सिष्टम राम्रो बनाउने हो । यो निर्देशनमा खास तुक छैन ।’ यता राष्ट्र बैंकका अधिकारीहरु भने एटिएम बुथहरु सुरक्षित हुन् भन्ने हेतुले यस्तो नियम ल्याएको बताउँछन् । हामीले यसबारे प्रविधिविज्ञ मुकुन्द पोखरेलसँग कुराकानी गरेका छौं ः

इलिगल सफ्टवेयर पनि समस्या हो ?
यसो त विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा इलिगल सफ्टवेयर प्रयोग भइरहेका छन् । यसअघि लिभिङ विथ आइसिटीले नै पाइरेटेड ओराकल सम्बन्धी समाचार प्रकाशन गरेको थियो । त्यसपछि कतिपय बैंकहरुले ओरिजिनल सफ्टवेयर प्रयोग गर्न सुरु पनि गरेका छन् । इलिगल सफ्टवेयरले कतै नै कतै समस्या पार्ने भएकाले पनि ह्याकिङका घटना बढेको विज्ञहरुको भनाइ छ । इलिगल सफ्टवेयरमा कतै न कतै लुपहोल हुने भएकाले यस्तो समस्या पर्ने गरेको विज्ञहरुको टिप्पणी छ । यता बैंकर्स संघका अध्यक्ष भने अहिले बैंकहरुमा इलिगल सफ्टवेयरहरु प्रयोग नहुने दाबी गर्छन् । ‘पहिला रिसोर्सको क्राइसिस हुँदा यस्ता कुराहरु केही आएका हुन् । तर अहिले कुनै पनि बैंकहरुले इलिगल सफ्टवेयर प्रयोग गरेका छैनन्,’ उनी भन्छन् । यता प्रविधिविज्ञ मुकुन्द पोखरेलको तर्क भने बेग्लै छ । ‘कोर सिष्टम इलिगल नभए पनि पनि अरु सफ्टवेयरहरु इलिगल छन् । अझै पनि कतिपय बैंकहरुले पाइरेटेड विन्डो प्रयोग गरिरहेका छन् ।
अन्य सफ्टवेयरहरु पनि पाइरेटेड छन् । यस्ता सफ्टवेयरमा पनि कतै नै कतै सिष्टमलाई बिगार्ने तत्व हुन्छन् । यसले ह्याकिङलाई कुनै न कुनै रुपमा प्रश्रय दिन्छ भन्ने सत्य हो,’ उनी भन्छन् ।

नेपालका सिष्टम कुनै पनि बेला ह्याक हुन सक्छन् : मुकुन्द पोखरेल प्रविधिविज्ञ

नेपालका बैंकहरुका सिष्टमहरु ह्याक भइरहेका छन् नि ? नेपालका बैंकहरुका सिष्टम असुरक्षित नै हुन् त ?
हामी हाम्रो भाषामा म्यचुरिटी लेभल भन्छौं । १ भनेको कति पनि सुरक्षित नभएको, ५ भनेको पर्फेक्ट । मैले एक दर्जनजति बैंकहरुको सिष्टम अडिट गरेको छु । कुनै बैंकको पनि सिष्टम सुरक्षित छैनन् । एक सिष्टम नै सुरक्षित छैनन्, अर्को सिष्टम सुरक्षित छैन भन्ने चिन्ता नै सरोकारवालाहरु कसैलाई छैन । समग्रमा हेर्दा नेपालका बैंकका सिष्टम ‘हाई रिस्क’मा छन् । कुनै पनि बेला कुनै पनि खालको ह्याक हुन सक्छ ।

आइटीमा त ठूलो खर्च गरेका छन् नि बैंकहरुले ? र पनि सिष्टम कसरी सुरक्षित भएनन् ?
सिष्टम, सफ्टवयेर वा हार्डवेयरमा खर्च गरिएको छ । तर ती सिष्टम राम्रो भएर मात्र हुँदैन । चलाउने मान्छे कस्तो छ भन्ने कुरा महत्वपूर्ण छ । उदाहरणका लागि, गाडी राम्रो मात्र भएर पुग्दैन नि । बाटो र ड्राइभर पनि त राम्रो चाहियो नि । सफ्टवेयर र हार्डवेयर राम्रो भएर मात्रै पुग्ने भए ठूला ठूला कम्पनीहरुका सफ्टवेयर कसरी ह्याक हुन्थे र ? नेपालमा सिष्टम राम्रो नभएको होइन । फिनाकलजस्ता राम्रा सफ्टवेर प्रयोग भएका छन् नेपाली बैंकहरुमा । तर त्यसलाई राम्रोसँग चलाउने ट्रेन्ड मेनपावर नै नेपालमा छैन । त्यो सिष्टमलाई कसले कसरी प्रयोग गरेको छ भन्ने कुरा महत्वपूर्ण छ ।

चलाउन जान्ने मान्छे नै भएनन् भन्ने हो ?
कुरा त्यतिमात्र होइन, सिष्टम चलेको छ भन्दैमा सबै कुरा ठीक छ भन्ने हुँदैन । प्राविधिक रुपमा सफ्टवेयर कसरी प्रयोग भएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । ती सिष्टमलाई सही तरिकाले प्रयोग गरिएको छ कि छैन भन्ने कुरा आउँछ । अहिले नेपालमा त्यस्तो मेनपावर नै नभएको पनि हो । भएका मेनपावरलाई पनि तालिमको कमी छ । आवश्यक जानकारीको कमी छ । अपडेटड सूचनाको कमी छ, जसका कारण नेपालका सिष्टमहरु असुरक्षित छन् । यसको अर्को कारण पनि छ । समस्या कानुन मै छ । नेपालको कानुन नै बलियो नभएकाले हेलचक्य्राइँ पनि भएको छ । गल्ती नै भए पनि के नै हुन्छ र भन्ने मानसिकताबाट हाम्रो आइटी क्षेत्र ग्रसित छ । उदाहरणका लागि एउटा कर्जाको फाइलमा सही गरेको भनेर बैंक अफ काठमान्डूका सीइओ हिरासतमा बस्नुपर्ने रे, अनि त्यत्रो नेप्स ह्याक हुँदा त्यहाँका प्राविधिकहरुमाथि किन अनुसन्धान गरिएन त ? समस्या कानुनमै छ । कानुन बलियो नभई केही हुनेवाला छैन ।

समस्या कानुनबाहेक के–के मा छन् ?
नेपालको कल्चरमै पनि समस्या छ । बैंकहरु कर्पोरेट कल्चरमा भन्दा व्यापारिक कल्चरमा चले । व्यापारीहरुलाई खर्च कम गरेर कसरी नाफा कमाउने भन्ने धुनमात्र छ । नेपालको बैंकहरुमा आइटी हेडहरु त काम चलाउमात्र छन् । न कारबाही हुन्छ, न क्वालिफाइड मेनपावर छ । थुप्रै बैंकहरुका डाटाहरु चोरिएका छन्, तर कसैलाई पनि कारबाही भएको छैन । ठूला ठूला आइटी फ्रडमा पनि आइटी अफिसरहरुलाई कारबाही भएको छैन । केही समय अगाडि एक बैंकको स्वीफ्ट ह्याक भयो । आइटी हेडलाई के कारबाही भयो त ? नेप्समा यति ठूलो घटना घट्यो । को जिम्मेवार भयो त ? कसलाई पक्राउ गरियो त ? के सजाय दिइयो त ? यहाँ त मैले त यति गरेकै हो, तलकाले बिगारे भन्ने चलन चल्यो । जिम्मेवारी अरुलाई दिने, दोष अरुलाई दिनेमात्र काम भयो । परे पनि तलका मान्छेहरु पर्छन् भन्ने प¥यो धेरैलाई, जसकारण उपल्लो तहका कर्मचारी सधैं व्यापारीले मात्र चलाए । जहाँ नाफाको कुरा मात्र चल्यो । मुख्य कुरा कानुन कमजोर भएपछि यस्तो समस्या आयो ।

आइटी हेडहरुमा पनि चाहिने जति क्वालिटी भएन हो ?
कसरी होस् त ? आइटी क्षेत्रमा निकै राम्रो काम गर्नेहरु नेपाल नै बस्न चाहँदैनन् । उनीहरुलाई नेपालमा भन्दा बाहिर धेरै राम्रो छ । नेपालमा पेमेन्ट पनि राम्रो छैन । यहाँ त नेपाल छोड्न नमिल्ने, परिवारमा समस्या भएकाहरु र विदेशमा अवसर नपाइरहेकाहरुमात्र बसेका छन् । उनीहरुलाई तालिम छैन । चाहिने अपडेटेड सूचना छैन । कसरी हो आफू बच्नुपर्छ भन्नेमात्र चिन्ता छ सबैलाई । फेरि सबै जना त्यस्तै छन् भन्ने पनि होइन । केही राम्रा मान्छेहरु पनि छन् । तर अधिकांशमा समस्या छ । ट्रेनिङ नै छैन ।

दुई ठूला ह्याकिङ घटना बाहिर आए, यसलाई कसरी हेर्नुभएको छ ?
यी त बाहिर आएका केस हुन् । यी थाहा पाएका केस हुन् । थाहा नपाएका केस त कति छन् कति । प्रहरीले थाहा नपाएर डाटाहरु चोरी भएका वा सिष्टम ह्याक भएका केसहरु कति छन् कति । यो केसमा नेपालका सिष्टम जोगिए । तर सधैं यसरी जोगिन सक्ने सम्भावना हुँदैन । आइटीमा काम गर्ने कर्मचारीहरुलाई ट्रेन्ड बनाउनुको विकल्प छैन ।

घटना दुर्भाग्यपूर्ण : ज्ञानेन्द्र प्रसाद ढुंगाना
अध्यक्ष, नेपाल बैंकर्स संघ
ह्याकरहरुले नेपालका एटिएम नै ह्याक गरेर पैसा झिक्न खोज्दा पनि नेपाल प्रहरीले उनीहरुलाई पक्रन सफल भएको छ । यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिनुपर्छ । उहाँहरुको एक्सनका कारण नेपाली बैंकबाट ठूलो क्षति हुनबाट हामी सबै जोगिएका छौं । झिकिएको पैसा प्रहरीले बरामद गरिसकेको छ । यसबाट अहिलेसम्मकै अवस्थामा कुनै पनि हानि भएको छैन । जनताको रकम सुरक्षित छ । तर घटना निकै दुर्भाग्यपूर्ण छ । यसले बैंकहरुलाई चुनौती थपिदिएको छ । तर संसारमा अझै ठूला ठूला ह्याकिङका घटना घटिरहेका छन् । नेपालमा त्यस्ता ठूला घटना घट्यो भने ठूलो क्षति हुन्छ । हामी त्यस्तो क्षतिबाट अझसम्म जोगिएका छौं । यो बैंकका सिष्टम भन्ने १०० प्रतिशत सुरक्षित नहुने रहेछन् । संसारमा कतै पनि कुनै पनि सिष्टम १०० प्रतिशत सुरक्षित नहुने रहेछन् । हामी हाम्रो ठाउँमा सकेसम्म सिष्टमलाई सुरक्षित बनाउन खोजिरहेका छौं । आइटीमा ठूलो लगानी छ । र पनि यस्ता घटनाहरु भइ नै रहेका छन् । यो साह्रै दुर्भाग्यको कुरा हो । एटिएम ह्याक प्रकरणले हामीलाई थप सचेत बनाएको छ । बैंकहरु थप सचेत भएका छन् । यस्ता घटना घट्न नदिन के–के गर्नुपर्छ, हामी सबै कुरा गर्न तयार हुनुपर्छ र छौं पनि ।

ठूलो दुर्घटनाबाट बैंकहरु जोगिए : गोविन्द प्रसाद ढकाल
अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एशोसिएशन
हामी हाम्रो ठाउँमा सकेसम्म सुरक्षित हुन खोज्दा खोज्दै पनि ह्याकरहरुले नेपाली बैंकहरुलाई निशानामा पारिरहेका छन् । यो निकै दुर्भाग्यपूर्ण कुरा हो । एटिएम ह्याक प्रकरणमा हामी ठूलो दुर्घटनाबाट बच्यौं । यो हाम्रो लागि पाठ हो । बैंकहरुले सुरक्षामा थप लगानी गर्नुपर्ने देखिएको छ । सबै बैंकहरु यस्तो कुरामा सचेत हुनुपर्छ । तर ह्याकिङ भन्ने कुरा नै यस्तो रहेछ, हाम्रो सुरक्षाका बाबजुत पनि उनीहरु सिष्टममा छिरेर पैसा चोर्ने प्रयास गरिरहेका हुने रहेछन् । नेपालमा मात्र होइन, संसारमा निकै ठूला ह्याकिङका घटना भएका छन् । नेपाली बैंकका मात्र होइन, प्रहरीकै सफ्टवेर पनि ह्याक भएका छन् । अस्पतालका सिष्टमहरु पनि ह्याक भएका छन् । हामी चनाखो हुनुको विकल्प छैन । कहाँ कहाँ लुपहोलहरु देखिएका छन्, तिनलाई सुरक्षित बनाउनुपर्छ । बैंकहरुले आवश्यक परेको खण्डमा सुरक्षामा लगानी थप्नुपर्छ । यसपालि भने ठूलो दुर्घटना टरेकै हो । यस्ता घटना अब नहुन् भन्नका लागि सबैजना सजग हुनुपर्छ ।

जनताको निक्षेप सुरक्षित छ : बम बहादुर मिश्र
नेपाल राष्ट्र बैंक
नेपालमा पटकपटक ह्याकिङका घटना हुनु दुर्भाग्यपूर्ण हो । तर कृषि विकास बैंक प्रकरण र नेप्स ह्याकिङ प्रकरणमा जे–जे भयो, जनताको निक्षेपमा कतै पनि समस्या छैन । जनताको निक्षेप पूर्ण रुपमा सुरक्षित छ । आम निक्षेपकर्ताले यस विषयमा ढुक्क भए हुन्छ । नेप्से प्रकरण हुनेबित्तिकै हामीले नियामकले गर्नुपर्ने सम्पूर्ण काम गरिसकेका छौं । नेप्सलाई आवश्यक निर्देशन दिइसकेका छौं । बैंकहरुलाई पनि सुरक्षाको मामलामा सजग हुन भनिसकेका छौं । एटिएम सुरक्षामा विशेष जोड दिन निर्देशन दिइसकेका छौं । घटेका दुई घटनामा प्रहरीसँग नजिक भएर काम गरिरहेका छौं । प्रहरीलाई सहयोग गरिरहेका छौं । हामी आफैं पनि समन्वयकारी भूमिकामा छौं । भएको घटनामा दोषीलाई कारबाही गर्ने र यस्ता घटना हुन नै नदिने कुरामा के गर्न सकिन्छ भन्ने विषयमा हामी सम्बन्धित निकायहरुसँग छलफल र बहसकै क्रममा छौं । ह्याकरहरुले बैंकबाट पैसा लगेको नै भए पनि जनताहरु आत्तिनुपर्ने कुरा छैन । जनताको निक्षेप पूर्ण रुपमा सुरक्षित छ । कृषि विकास बैंकको प्रकरणमा होस् वा नेप्स नै ह्याक भएको प्रकरणमा होस् प्रहरीको भूमिका प्रशंसायोग्य छ । उहाँहरुका कारण ठूलो दुर्घटना टरेको छ । लुटिएको पैसा बरामद भइसकेको छ । निक्षेपकर्ताले कुनै पनि ठाउँमा चिन्ता लिनुपर्दैन । जनताको रकम १०० प्रतिशत सुरक्षित छ ।

प्रतिक्रिया दिनुहोस्

'अर्थ सरोकार खोज पत्रिका' नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पत्रिका हो । किताब यात्रामार्फत देशभर उपलब्ध हुने यो पत्रिका अलावा हामीले अर्थ सरोकार रिसर्च पेपरहरु प्रकाशन गर्छौँ । अर्थ सरोकार खोज पत्रिकाको हार्ड कपि स:शुल्क र रिसर्च पेपर नि:शुल्क समाचार सेवा हो । कुनै सल्लाह तथा सुझाव भए [email protected] मा इमेल लेख्न सक्नुहुनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal