×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार खोज पत्रिकाबारे

अर्थ सरोकार खोज पत्रिकाबारे

देशमा थुप्रै पत्रिकाहरु वा म्यागजिनहरु निस्किन्छन् । तर दुःखको कुरा, थोरै म्यागजिनहरु वा पत्रिकाहरुमात्र पूरै पढिन्छन् । कतिपय यस्ता पत्रिकाहरु बर्गीकरणको पैसा बचाउनकै लागि निस्किन्छन्, कतिपय पत्रिकाहरु विज्ञापन छाप्नकै लागिमात्र छापिन्छन् । बजारमा यस्ता थोरै पत्रिकाहरुमात्र छन्, जसलाई किनेर तपाईंले फुर्सदमा पढ्नुहुन्छ । त्यहाँबाट केहि सिक्नुहुन्छ । र सिकाइको श्रेय उक्त पत्रिकालाई दिनुहुन्छ । हामी यस्तै सिकाइको माध्यम बन्न चाहान्छौँ । हरेक ३ महिनामा एक पटक आउने, तर आएपछि अर्को तीन महिनाको पर्खाइ हुनेगरी आउने हाम्रो योजना हो । बरु ढिलो आउने, आएपछि कडागरी आउने सोचका साथ हामीले अर्थ सरोकार खोज पत्रिकाको सुरुवात गरेका छौँ । हरेक अंकमा एउटामात्र विषय समेट्ने तर उक्त विषयको सतहसम्मै पुगेर उक्त खोजी सामाग्री जनतामाझ पस्कने उद्देश्य बोकेर हामी आएका छौँ । हो, जरुर सम्भावनाभन्दा बढी चुनौती छन्, तर विश्वप्रशिद्ध व्यापारी ज्याकमाले भनेजस्तै आज कठिन छ, भोलि झन् कठिन छ, तर पर्सिको दिन सुनौलो छ भन्ने हामीले बुझेका छौँ ।
नेपालको आर्थिक क्षेत्रसँग रुची राख्ने जो-कोहिका लागि ’अर्थ सरोकार’ नाम नौलो नहुनुपर्छ । ’अर्थ सरोकार’ देशभरका डेढसयभन्दा बढी रेडियोहरुमार्फत स्रोतामाझ पुग्ने रेडियो कार्यक्रमको नाम पनि हो । टेलिभिजन कार्यक्रम अर्थ सरोकार देशमै सबैभन्दा बढी हेरिने आर्थिक टेलिभिजन कार्यक्रम हो भन्दा हामी गर्व महसुस गर्छौं । सञ्चारमाध्यममार्फत हामी पुग्न नसकेको भनेको पत्रिकामार्फत पाठककहाँ थियो । अव त्यो कमीलाई समाप्त पार्न र पत्रिकामार्फत जनतामाझ विशेष सामाग्री पस्कन हामी ’अर्थ सरोकार खोज पत्रिका’मार्फत आएका छौँ ।
पत्रकारितामार्फत जन-जनलाई जागरुक बनाएर नेपाली अर्थतन्त्रको समृद्धिमा केहि इँटाहरु थप्ने हाम्रो मुख्य उदेश्य हो । देशमा पटक(पटक परिवर्तनका नाममा जे जति आन्दोलन र उपलब्धि भएपनि नेपाली जनताको आर्थिक स्तर माथि उठेको छैन । आर्थिक रुपमा देशमा थुप्रै समस्याहरु छन् । विकासको गति सुस्त छ । ’लुटतन्त्र’ले जरा गाडेको छ समाजमा । देशमा चरम भ्रष्टाचार छ । नेपाली अर्थतन्त्रभित्र नदेखाइएका सत्य र लुकाइएका यथार्थ थुप्रै छन्् । तीनै लुकाइएका सत्य र नदेखाइएका यथार्थ्भित्रको सुचना र जानकारी जनतालाई पस्कने हाम्रो मुख्य उदेश्य हो । ’परिवर्तन’का लागि निडर, निर्भिक र निष्पक्ष पत्रकारिताको अभ्यास गर्ने हाम्रो मुख्य उदेश्य हो । हाम्रो टिमले झन्डै २.५ महिना लगाएर गर्ने खोजीमा पक्कै नयाँ स्वाद र सामाग्री पाठकले पाउनुहुनेछ भन्नेकुरामा हामी विश्वस्त छौँ । 
अनलाइनमा लेखिरहने हामीलाई पत्रिका सञ्चालक गर्न सानो चुनौती जरुर छैन । रेडियोमा बोल्न अभ्यस्त भएको हाम्रो टिमलाई यो प्रयोग पक्कै नौलो हो । टेलिभिजन कार्यक्रम बनाउन सहज लाग्ने हाम्रो समूहलाई यो नौलो अभ्यास पक्कै हो । तर अनलाइनमा हामी जति सफल छौँ, त्यसको सुरुवातपनि यस्तै चुनौतीका बीच सुरु भएको थियो । रेडियोमा स्रोताहरुको जुन विश्वास हामीले पाएका छौँ, त्यसको सुरुवाती चरण पनि कम गाह्रो थिएन । टेलिभिजन कार्यक्रम निर्माण गर्नु र त्यसमा पनि हरेक हप्ता खोजमूलक कार्यक्रम प्रशारण गर्नु पनि सानो चुनौतीको काम पक्कै थिएन । र त हामीले अर्को चुनौतीलाई पनि पार गर्छौं भन्ने आत्मविश्वास लिएर तपाईंहरु माझ आएका छौँ ।
हामी हाम्रो म्यागजिन हरेक पत्रिका पसलहरुमा झुण्डिनुपर्छ भन्ने पक्षमा छैनौं । तर अनलाइनमार्फत पनि पत्रिकाको अर्डर लिने तयारी गरेका हामी, हाम्रो टिम अर्डर पुर्याउन गतिशील भएर लाग्नुपर्नेगरी काम गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौँ । हामी सबैमाझ होइन, आर्थिक क्षेत्रलाई बुझ्न चाहानेहरुमाझ ’ब्राण्डेड’ म्यागजिन हुन चाहान्छौँ । हरेक तीन महिनामा प्रकाशित हुने हाम्रो पत्रिकाको हरेक अंकले हाम्रा पाठकलाई ’खास’ केहि दिनुपर्छ भन्ने कुरामा हामी प्रतिबद्ध छौँ । तपाईंका हरेक खालका रचनात्मक सुझाव, सल्लाह तथा प्रतिक्रिया हाम्रा लागि मार्गदर्शक बनिरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

'अर्थ सरोकार खोज पत्रिका' नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पत्रिका हो । किताब यात्रामार्फत देशभर उपलब्ध हुने यो पत्रिका अलावा हामीले अर्थ सरोकार रिसर्च पेपरहरु प्रकाशन गर्छौँ । अर्थ सरोकार खोज पत्रिकाको हार्ड कपि स:शुल्क र रिसर्च पेपर नि:शुल्क समाचार सेवा हो । कुनै सल्लाह तथा सुझाव भए [email protected] मा इमेल लेख्न सक्नुहुनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal